डेनिस राजकुमार लमजुङमा

0

लमजुङ, ३१ भदौ । डेनमार्कका राजकुमार फ्रेडरिक चारदिने भ्रमणका लागि विहीबार लमजुङ आइपुगेका छन् । भूकम्पपछिको अवस्था अवलोकन गर्न डेनिस राजकुमार लमजुङ आएका हुन् । राजकुमारले शुक्रबार दुर्गम गाउँ पाचोकमा पुगेर भूकम्पपछिको अवस्था अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछिको अवस्था अवलोकन गर्न पश्चिमा मुलुकबाट नेपाल आउने डेनिस राजकुमार नै पहिलो उच्च ओहदाका व्यक्ति हुन् । रेडक्रसको निमन्त्रणामा अनौपचारिक भ्रमणमा आएका डेनिस भ्रमणको चाँजोपाँचो काठमाडौस्थित डेसिन दूतावास र अन्तर्राष्ट्रिय रेडक्रसले मिलाएको हो ।
डेनिस राजकुमारका साथमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधि र डेनिस दूतावासका कर्मचारी पनि विहीबारै लमजुङ आएका छन् । राजकुमारको टोली शुक्रबार बिहानै पाचोक गाउँ जानेछ । जहाँ डेनिस रेडक्रसको सहयोगमा भूकम्पपीडितका लागि सन्चालन भएको परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।
डेनिस रेडक्रसको सहयोगमा लमजुङ रेडक्रसले पूर्वी लमजुङका ६ गाविसहरु पाचोक, ढोडेनी, फलेनी, हिलेटक्सार, नौथर र बन्सारका भूकम्पपीडितहरुलाई सहयोग गरेको छ । भूकम्पले क्षतविक्षत भएको अवस्थामा डेनिस राजकुमारको लमजुङ भ्रमणले विदेशी पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको सन्देश जाने यहाँका पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.