नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु

0

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशमा औपचारिकरुपमा शुरु भएको छ । आगामी ३ गतेसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको उपराष्ट्रपति पुनले उद्घाटन गरे । 

यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गरे । उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

सो अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको थियो । मार्चपासमा नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी छ । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । रंगशालाका प्यारापिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताए । कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।

प्रतियोगितामा करिब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । 

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् । 

उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशील गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ लिएका थिए ।

Leave A Reply

Your email address will not be published.