काठमाडौं : कालिकोटमा गएको पहिरोमा परि बेपत्ता भएका १५ मलामीमध्ये केहीको शव फेला परेको छ । कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १५ जना बेपत्ता भएका थिए । ती मध्ये केहीको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव दहन गर्ने क्रममा सोही क्षेत्रमा ठुलो पहिरो गएकाले १५ जना बेपत्ता भएका थिए । पहिरोमा पर्नेहरुमा तिलागुफा नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय वडाध्यक्ष परबहादुर शाही ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय प्रशान्त शाही छन् ।
केहीको शव फेला परे पनि बाँकी बेपत्ताको खोजीका लागि जुम्लाबाट प्रहरी खटिएको छ । कालिकोटका प्रहरीका अनुसार विपद् व्यवस्थापन गण जुम्लाबाट प्रहरी जनशक्ति घटनास्थलमा खटिएका छन् । तर, भौगोलिक कठिनाइ र निरन्तर वर्षाका कारण खोजी कार्यमा कठिनाई भएको छ । तथापि, प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।
कालिकोटको कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा ठूलो पहिरो आएपछि वेपत्ता भएका मलामी मध्ये केहीको शव फेला परेको छ भने केहीको शव फेला पर्न बाँकी छ । गत शनिबार मृतक स्थानीय युवक हेमराज शाहीको मलामी गएका राँचुली वडा नं. ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए ।