निर्वाचन सुरक्षामा केन्द्रित सुरक्षा निकाय

0

काठमाडौं : चारै सुरक्षा निकाय निर्वाचन सुरक्षामा केन्द्रित भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा तयारीबारे सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार चारै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।

नेपाली सेनाका अनुसार सैनिक उच्च अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफलमा समसामायिक तथा समग्र सुरक्षा अवस्थाको समीक्षासमेत गरिएको छ । 

छलफलमा विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल एवं अन्तरक्रिया भएको थियो ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९’ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच भेटवार्ता तथा छलफल भएको हो ।

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरु केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्नेलगायत विषयहरूमा समेत छलफल भएको थियो,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुँदैछ ।

४ मंसिरमा हुने चुनावका लागि निर्वाचन आयोग आफ्नो तयारीमा छ । राजनीतिक दलहरु चुनावी रणनीतिमा छन् । राजनीतिक दलहरुबाट हुन सक्ने, दलका नेता÷कार्यकर्ताबाट हुन सक्ने अवान्छित गतिविधिको निगरानीका लागि सुरक्षाका चारै निकाय चनाखो हुने भएका हुन् ।

साथसाथै, बिभिन्न राजनीतिक दलहरु चुनावको बहिष्कारमा पनि छन् । बहिष्कारमा रहने राजनीतिक दलहरुल विगतमा चुनाव विरोधी गतिविधि गरेकोलाई समेत ख्याल गरेर सुरक्षा निकायले सुरक्षा रणनीति तय गरेको र त्यसै अनुसार परिचालित हुने बताइएको छ ।

नेकपा क्रान्त्रीकारी माओवादी सहित बिभिन्न राजनीतिक दलले चुनावमा भाग नलिन निर्णय गरेका छन् । उनीहरुको गतिविधिलाई सुरक्षा निकायले नजिकबाट नियालिरहेको जनाएको छ । 

Leave A Reply

Your email address will not be published.