छानविन समितिको निष्कर्ष : ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन सकेन’ (पूर्णपाठ)

0

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

संसद भवन नयाँ वानेश्वरमा समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् । प्रतिवेदन कर्णले शुक्रबार नै प्रतिनिधि सभा बैठक पेश गरेका छन् ।

बजेटको अघिल्लो दिन अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार गरेको छ ।

समितिले मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको भन्दै शर्मालाई सफाइ दिएको हो ।

प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

प्रमुख प्रतिपक्ष एमालेका चार सांसदले भने समितिको यो प्रतिवेदनमा राखिएको निष्कर्षको विरोध गरेका छन् । उनीहरुले आरोपितको मोबाइलको कल रेकर्ड र लोकेसन ट्र्याकिङ गर्न माग गरे पनि सत्तापक्ष सांसद फस्ने भन्दै यसतर्फ जान नचाहेको आरोप लगाएका छन् ।

समितिले सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि छुट्टै अध्ययन गर्न सुझाव समितिले दिएको छ ।

त्यस्तै समितिले करका दर हेरफेर गर्ने कारण र राजस्व परिचालनमा पार्ने प्रक्षेपण सुरक्षित राख्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले छानविनको लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयले हलुका ढंगले व्यवहार गरेको आरोप लगाएको छ ।

करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको समितिको भनाइ छ ।

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो ।

समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानविन समितिले प्रतिवेदन तयार गरेको हो ।

Leave A Reply

Your email address will not be published.