नेपालमा बाघको संख्या ३५५ पुग्यो, एक दशकमा दुई गुणाले वृद्धि

0

काठमाडौं : नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । चितवनमा १ सय २८ वटा बाघ छन् ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

सन् २०१० नेपालमा १ सय २१ बाघ थिए । सन् २०१३ को गणनामा १ सय ९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २ सय ३५ पुगेका थिए ।

पछिल्लो दशकमा बाघको संख्या दुई गुणाले वृद्धि गर्ने संकल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको हो ।

नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प गरेको थियो । नेपालमा गत मंसिर १९ देखि फागुन २८ गते बाघ गणना गरिएको थियो ।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी पाँच स्थानमा बाघ पाइन्छ ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

Leave A Reply

Your email address will not be published.