असई बिकलाई लखेटेर मारे

0

गौशाला, २५ भदौ । महोत्तरीको जलेश्वरमा आज बिहान आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेका अनुसार आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका लागि गाउँको बाटो हुँदै अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविस– ८ सनोखराको वनको बाटोमा स्थानीयवासीले एम्बुलेन्स रोके, उनलाई बाहिर निकाले र लाठी प्रहार गरी हत्या गरे ।
गाउँका आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरेका छन् । असई विकको हत्या गरी सडकभन्दा डेढ किलोमिटर पूर्व धान खेतमा फालिदिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बतउनुभयो ।
असईको हत्यापछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुको नेतृत्वमा ठूला सङ्ख्यामा प्रहरी पुगेका छन् । उनको शव जलेश्वर ल्याउने तयारी भइरहेको जनाइएको छ ।
आज बिहान करिब ८ः३० बजेतिर असई विकलाई आन्दोलनकारीले जलेश्वरको शङ्करचोकमा कुटपिट गरी घाइते बनाएका थिए । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पु-याएका थिए । उनलाई थप उपचारका लागि जलेश्वरको ६६.१.१२३५ नम्बरको एम्बुलेन्समा राखी जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविसका आन्दोलनकारीले उनीमाथि आक्रमण गरेका हुन् । यस घटनाका कारण महोत्तरीको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

Leave A Reply

Your email address will not be published.