काठमाडौं : नेपाली कांग्रेसले मतदाता नामावली संकलनलाई सरल बनाउन र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर विदेशमा बस्नेहरुले पनि मत दिन पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।
भेटमा संसदीय निर्वाचनका निम्ति मतदाता नामावली संकलनको कामलाई सहज बनाउन ध्यानाकर्षण गराइएको महामन्त्री थापाले जानकारी दिए ।
मताधिकारको प्रारम्भमै झमेला व्यहोरेपछि मताधिकारप्रति वितृष्णा बढाउने देखिएकाले सहज वातावरण बनाउनुपर्ने माग कांग्रेसले गरेको हो ।
भेटमा प्रमुख आयुक्त थपलियाले साउन दोस्रो सातादेखि विदेशमा रहेका नेपालीहरूको नामावली संकलन गर्ने जानकारी दिएका छन् ।
कांग्रेसले निर्वाचन आचारसंहितालाई कर्मकाण्डी मात्रै नभएर व्यवहारिक बनाउन पनि आयोगको ध्यानाकर्षण गराएको छ ।
यसअघि महामन्त्रीद्वयले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नागरिकलाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।