काँग्रेस पार्टी कार्यालयमा आगजनी
जनकपुरधाम, २१ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।
सयौँको सङ्ख्यामा रहेको आन्दोलनकारीले कार्यालयमा पेट्रोल छर्केर आगो लगाइदिएपछि कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ । यसैगरी नेकपा (एमाले) पार्टी कार्यालय धनुषामा आगजनी गर्न गएको आन्दोलनकारीको भीडलाई प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरी लखेटेर कार्यालयलाई आगजनी हुनबाट जोगाएको छ । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।