बेनी उमाविका प्राचार्य श्रेष्ठलाई उत्कृष्ट शिक्षक पुरस्कार

0

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुनुभएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था (पिपी) प्रजापती प्रसाईं फाउन्डेसनले श्रेष्ठलाई देशभरकै उत्कृष्ट शिक्षकको रुपमा सम्मान तथा पुरस्कृत गरेको हो । श्रेष्ठलाई भदौ १९ गते शनिबार काठमाडौँमा राष्ट्रपति डाक्टर रामवरण यादवले नगद रु ५० हजार सहित उत्कृष्ट शिक्षक सम्मान प्रदान गर्नुभएको थियो ।
यसैगरी, संस्थाले विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको छ । संस्थाले देशभरका शिक्षकको कार्यक्षमता मूल्याङ्कनको क्रममा श्रेष्ठलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो । प्राचार्य श्रेष्ठले उत्कृष्ट शिक्षकको रुपमा छनोट हुँदा गर्व लागेको र उत्साहित भएको बताउनुभयो ।
“यो सम्मान मेरा लागि मात्र होइन म्याग्दीलाई चिनाउने अवसर पनि हो” प्राचार्य श्रेष्ठले भन्नुभयो । बेनी सामुदायिक उच्च मावि विसं २०७० को एसएलसी परीक्षाको शतप्रतिशत उत्तीर्ण नतिजाको आधारमा देशभरकै उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको थियो ।
विद्यार्थी केन्द्रित र सहभागितामूलक शिक्षण क्रियाकलाप, विद्यार्थी, शिक्षक र अभिभावकबीच नियमित शैक्षिक विषयमा छलफल तथा पठनपाठनमा प्रविधिको प्रयोगका कारण बेनी सामुदायिक उच्च माविको शैक्षिक उपलब्ध उच्च रहँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.