माग सम्बोधन गर्न सांसदहरुको आग्रह

0

काठमाडौं, २० भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने संसद्ले सङ्घीय प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउँदै तराई लगायतका विभिन्न भागमा भएका आन्दोलनमा सरकारका तर्फबाट गरिएको ज्यादतीको भत्र्सना गर्नुभयो । साथै उहाँहरुले आन्दोलनरत समुदायको माग सम्बोधन गर्न आग्रह पनि गर्नुभयो । समय माग गर्दै बोल्ने पहिला वक्ता नेपाली काँग्रेसका दीपक गिरीले संसारकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अमेरिकामा मृत्यु भएको तीन दिन भइसकेकाले शीघ्र उहाँको पार्थिव शरीर नेपाल ल्याउन आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का अमर शर्माले टीकापुरको घटनासँगै बर्दियामा भएको घटनामा लुकेर बसेका आक्रमणकारीले सुनियोजित रुपले जातीय हिंसा र साम्प्रदायिकता भड्काउन पहाडियालाई भगाउन कोसिस गरेकाले पनि स्थानीयवासीले त्यस्ता आपराधिक व्यक्तिको प्रतिरोध गरेको बताउँदै सो आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गर्नुभयो ।
एनेकपा माओवादीका अजयशङ्कर नायकले संविधान निर्माणको अन्तिम बिन्दुमा आन्दोलनरत समुदायको माग विपरीत मधेस र थारूवान् मगरात क्षेत्रलाई छिन्नभिन्न बनाइएको र अहिले सीमाङ्कनलाई नै जबर्जस्ती वैध तुल्याउने प्रयास गरिएकामा विरोध जनाउनुभयो ।
राप्रपा नेपालका सुशीलकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्रमा करोडाँै भ्रष्टाचार भएको खबर बाहिर आउँदा पनि सरकार मौन रहेको छ भन्दै अविलम्ब संसदीय छानबिन समिति गठन गरी कारबाही अघि बढाउन, आमरण अनशनमा रहनुभएका डा गोविन्द केसीका माग पूरा गर्न र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन ल्याउन माग गर्नुभयो ।
सभामुख नेम्वाङले यस विषयमा संसद्को तथा सिङ्गो देशको ध्यान गएको र संसद्को सम्बन्धित समितिका सभापतिले पनि छानबिनको प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । तमलोपाका अकवालअहमद शाहले देशमा भइरहेको घटनाबारे गृहमन्त्रीले दिनुभएको जानकारीप्रति आपत्ति जनाउँदै थारू, मधेसी र मुसलमान समुदायले प्रदेशको सीमाङ्कनका लागि शान्तिपूर्ण आन्दोलन गरेका हुन् भन्नुभयो । उहाँले विगतमा भएका सम्झौताका कार्यान्वयन गर्न र राजनीतिक समस्यालाई राजनीतिक तवरबाटै हल गर्न सुझाव दिनुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले बर्दियामा भएको आन्दोलनमा प्रहरीबाट अश्रुग्यास छोडेपछि प्रतिकारका क्रममा भएको झडपमा सुरक्षाकर्मीको मृत्यु भएको र सुरक्षाकर्मीले एक घरमा छिरेर एक चौधरीलाई कुटीकुटी मारेको आरोप लगाउनुभयो ।
नेमकिपाका डिल्लीप्रसाद काफ्लेले सरकारले देशमा शान्ति फैलाउने काम नगरेको, सीमा क्षेत्रमा राखिने स्तम्भको खर्च भारतले व्यहोर्नु उचित नभएको र विराटनगरमा रहेको भारतीय क्याम्प हटाउनुपर्ने बताउनुभयो ।
थरुहट तराई पार्टीका गोपाल दहितले एकतर्फी रुपले भएको प्रादेशिक सीमाङ्कनविरुद्ध मेची महाकालीमा प्रदर्शन भइरहेको बताउँदै प्रदर्शनमा राज्यतर्फबाट दमन र सामाजिक सद्भाव भड्काउने काम भएको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका सीमाकुमारी विकले सीमाङ्कनकै विषयमा भएको आन्दोलनमा थुप्रै आन्दोलनकारी र सुरक्षाकर्मीको ज्यान गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षाकर्मीले दबाब दिने काम रोक्नुपर्ने र आन्दोलनकारीले शान्तिपूर्ण आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली जनता दलका हरिचरण शाहले प्रदेशको सीमाङ्कनमा चार दल अब तीन दलमा सीमित छ भन्दै आन्दोलनका क्रममा तराईका अधिकांश भागमा दलालीले मूल्य वृद्धि गरेकामा सरकारको ध्यान नपुगेको गुनासो गर्नुभयो ।
एनेकपा (माओवादी)का श्यामकुमार श्रेष्ठले विराटनगरस्थित भारतीय क्याम्प हटाउन माग गर्दा पनि हटाइएको छैन भन्दै यसले सर्वभौमसत्ता सम्पन्न देशलाई कुण्ठित पारेकाले सबै राजनीतिक दलले एक मतले यस विरुद्ध प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद अनिलकुमार रुङ्गटाले आन्दोलन लम्बिँदा उद्योगधन्दा बन्द भएको, पेट्रोलियम पदार्थ ल्याउन कठिन भएको र उद्योगका कच्चापदार्थ रक्सौलमा कुहिने अवस्थामा पुगेकातर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।
नेपाली काँग्रेसका तेजुलाल चौधरीले संविधान जारी गर्ने अन्तिम अवस्थामा तराई र मधेसमा चलेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँका ४५ प्रतिशत जनता सहभागी भएको तर उनीहरुले सीमाङ्कन र मधेसको अधिकारका बारेमा राखेको माग सरकारले अझै पनि बेवास्ता गरिरहेको आरोप लगाउनुभयो ।
नेकपा (एमाले)का सांसद जयप्रकाश थारूले तराई मधेसका जनताको भावनाबमोजिम संविधान संशोधन र शीर्षनेताले वार्ता प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका हरिप्रसाद नेपालले कृष्णजन्माष्टमीको भोलिपल्ट आजका दिन पाल्पामा साम्राज्यवादीलाई घुँडा टेकाएको उपलक्ष्यमा मनाइने भगवतीे जात्रालाई महत्व दिन र यस दिन एक दिन नेपाल भर बिदा दिन माग गर्नुभयो ।
नेकपा (एमाले)का जुनैद अन्सारीले हज समितिबाट हज गर्न जाने तीर्थयात्रीका लागि हुने खर्चको जानकारी दिँदै यो खर्च अन्य मुलुकले आफ्ना यात्रीका लागि गर्ने खर्चको तुलनामा निकै कम हो भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.