काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान शुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् । भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले बिहान ७ बजे व्यास नगरपालिका –२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ’ख’ मा मतदान गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन् । पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहका प्रतिनिधि चुन्न मतदान गरेका छन् । उनले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा स्थित नारायणी मावि साँघु केन्द्रबाट मतदान गरेका हुन् ।