२६ औं पटक सगरमाथा शिखरमा कामीरिताको पाइलो

0

 यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् ।

योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ’ब्रेक’ गरेका छन् ।

कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६ः५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले बताए । उनका अनुसार कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।

यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए ।

त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

Leave A Reply

Your email address will not be published.