संस्था फुट्नबाट जोगाउन सहमति गर्‍याैं : नवनिर्वाचित अध्यक्ष कुल आचार्य

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष कुल आचार्यले संस्था फुट्नबाट जोगाउन आफुहरुले सहमति गरेको बताएका छन् ।

एनआरएनएको दशौं विश्व सम्मेलनमा अध्यक्षको पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगत्तै समापन कार्यक्रमा बोल्दै अध्यक्ष आचार्यले गएको झण्डै ८ महिनादेखि प्रतिनिधि विवाद समाधान गरी आफुले  महाधिवेशन माग गरेको र संस्था फुट्नबाट जोगाउन बहुपदमा गएको बताए। उनले कसैलाई पाखा, कसैलाई काखा गर्ने नगरी एनसीसीहरुलाई सशक्त बनाउन काम गर्ने  प्रतिबद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष आचार्यले संस्थालाई एकताबद्ध रुपमा अघि बढाउन सहयोग गरिदिन सबैलाई आह्वान पनि गरे । उनले अब एनआरएनएको प्रमुख माग भनेको गैरआवासीय नेपाली  नागरिकता, पासपोर्ट, सम्पत्ति सुरक्षा भएको बताए । उनले सरकारसँग समन्वय गरी संसदबाटै गैरआवासीय नेपाली नागरिकता ऐन पारित गर्नु आफ्नो प्राथमिकता हुने सुनाए । साथै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित बनाउन सबैको साथ रहने उनले  विश्वास व्यक्त गरे ।

आचार्यले  नेपालका कूटनीतिक नियोगहरुसँग समन्वय गरी विदेशमा अलपत्र पर्ने नेपालीका शव ल्याउन पहल गर्ने, पूँजीगत लगानी अभिबृद्धि गर्न पहल गर्ने बताए । उनले सकभर छिट्टै संसारभर पुग्ने प्रतिबद्धता व्यक्त गरे । विदेशमा रहेको ज्ञान, सिप, पूँजीलाई नेपाल ल्याउन जरुरी छ’, आचार्यले भने, ‘हामीलाई विश्वास गर्नुस् । पछाडि फर्केर हेर्ने, टिकाटिप्पणी आजदेखि बन्द गरौं । अगाडि कसरी बढ्ने सुझाव, सल्लाह दिन विनम्र अनुरोध गर्दछु ।’ नयाँ पुस्तालाई मातृभूमिसँग जोड्न आफुले पहल गर्ने पनि उनले बताए ।

यस अघि अध्यक्ष कुमार पन्तले सर्वसम्मतिको आधारमा आचार्य, रबिना थापा र डा बद्री केसी अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेका थिए। उनले अन्य पदमा निर्वाचित पदाधिकारीहरुको नाम पनि पढेर सुनाएका थिए।

Leave A Reply

Your email address will not be published.