चिनियाँ विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, ओली र प्रचण्डलाई पनि भेटे

0

काठमाडौं : तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले आइतबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । 

यीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय सम्वन्ध र चासोका विषयमा छलफल गरेका हुन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य र चासोबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिसँगको भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । 

नक्सालस्थित होटल मेरियटमा भएको भेटमा द्धिपक्षीय सम्वन्ध लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा ओलीले बीआरआईसँग सम्वन्धित आयोजनाहरु छिटोभन्दा छिटो अघि बढाउन आग्रह गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

ओलीले दुई देशबीच बन्द रहेका नाका खुलाउन र कोभिडका कारण नेपाल आएका विद्यार्थीलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन पनि चीनलाई आग्रह गरेको भट्टराईले जानकारी दिए । 

त्यसैगरी भेटवार्ताका क्रममा माओवादी अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताए । उनले कोरोना महामारी नियन्त्रण र नेपालको भौतिक पूर्वाधार क्षेत्रको विकासमा चीनले गरेको सहयोगको प्रशंसा गरेको माओवादी केन्द्रका नेता शक्ति वस्नेतले बताए ।

भेटवार्ताका क्रममा दाहालले पनि बीआरआईसँग सम्वन्धित आयोजनाहरु अघि बढाउन आग्रह गरेको बताइएको छ । दुवै नेतासँगको भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी र नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको नेताहरुले बताए ।

Leave A Reply

Your email address will not be published.