आक्रमक भएर निर्वाचनमा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रक्षात्मक नभई आक्रामक भएर निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । 

बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा दाहालले सेटिङ गरेर चुनाव जित्न काँग्रेस र एमाले सिपालु भएकाले आक्रामक हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै दाहालले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए । उनले आगामी चुनाव पार्टीका लागि जीवन मरणको सवाल भएको पनि बताए ।

अध्यक्ष दाहालले निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी प्रणाली लागू गर्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

अध्यक्ष दाहालले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क लाग्ने गरेको पनि सुनाए । संसद विघटनसम्म पुग्दा ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको उनले सम्झिए ।

आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले गठबन्धनबाट आश गरेर आउला र खाउँला भन्ने पक्षमा पार्टी नभएको बताए ।

Leave A Reply

Your email address will not be published.