काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि टुंगो लगाएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको हो ।
बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए ।
त्यस्तै प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए ।
यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहालले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए । माओवादी स्थायी कमिटी बैठक शनिबार दिउँसो पुनः बस्ने प्रवक्ता महराले जानकारी दिए ।