राष्ट्रियसभा बैठकमा एमालेको अवरोध, कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । 

सोमबारको बैठक शुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् ।

राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताए । 

उनले सत्तापक्षबाट भन्दा पनि प्रतिपक्षबाट बढी अपेक्षा गरिएको भन्दै असन्तुष्टि राखेका हुन । सर्वदलीय बैठक बोलाउँदा पनि देखावटी काम गरिएको दाहालको भनाइ थियो ।

उनले माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराएका थिए । 

नेकपा एमालेले गत भदौ २३ यता संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.