गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण 

0

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली संघका सदस्यहरूसँग गृह मन्त्रालयमा बिहीबार भएको छलफलमा गृहमन्त्री खाँणले नेपालका नागरिकहरूले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका हुन् । 

उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैर आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेलिकेटेट डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्ने लगायतका विषय समाधान गर्न सरकार सकारात्मक रहेको बताए । 

छलफलमै रहेका गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या अविलम्ब समाधान गर्न दिर्नेशन दिए । ‘अन्तर्राष्ट्रिय विमालस्थलमा धेरै समस्या देखिएको छ, त्यसलाई अविलम्ब सुधार गर्नुहोला,’ गृहमन्त्री खाँणले सचिव पाण्डेलाई निर्देशन दिँदै भने । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धित मन्त्रीहरूको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिए ।

त्यस्तै गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिए । 

छलफलमा सहभागीहरूले अन्य विषयगत अस्पतालजस्तै एनआरएनएहरूका लागि पनि अस्पताल खोल्ने व्यवस्था गर्ने पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री खाँणले पहिला जग्गा भेटिएपछि सरकारले केही पैसा लगानी गर्न सक्ने बताए । 

गैरआवासीय नागरिकलाई संविधानमा गरिएको व्यवस्थाबारे सरकार सकारात्मक रहेको र संविधानअनुरुप प्रक्रिया सुरु गर्न पहल गर्ने बताए । उनले आफू ‘एक पटकको नेपाली सधैंको नेपाली’ बनाउनेबारे पनि आफू सकारात्मक  रहेको बताए ।

गैरआवासीय नेपालीहरूलाई नेपालमा थोरै थोरै भए पनि लगानी गर्न उनले आग्रह गरे । लगानी गर्नका लागि कानुनी उल्झन भएमा फुकाउन आफूले पहल गर्ने उनको भनाइ छ । 

गृहसचिव पाण्डेले अरेविया, साइप्रसलगायतका मुलुकमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताए । 

बैठकमा एनआरएनएका नेता कुल आचार्य जनसम्पर्क समिति अमेरिका महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, भारतबाट महाधिवेशन प्रतिनिधि तथा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेलगायत विभिन्न मुलुकमा बस्ने नेपालीले आफूहरुका समस्याबारे गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

जनसम्पर्क समिति साइप्रसकी सभापति सिता अर्यालले त्यहाँ राजदूताबास नभएको र त्यहाँ रहेको कन्सुलर कार्यालयको अधिकार नहुँदा नेपालीहरूले धेरै समस्या झेल्नु परेकोबारे गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए । 

Leave A Reply

Your email address will not be published.