काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न नभए व्यापार गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबी गर्दै प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न चेतावनी दिए ।
उनले नेपालको राजनीतिमा राम्रो संकेत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको पनि बताए ।
राष्ट्रिय, लोकतन्त्र, समाजवाद, सामाजिक न्याय, समृद्धिको यात्रामा मुलुकका परिवर्तनकारी शक्ति एक जुट हुन सबै राजनीतिक नेतृत्वलाई आह्वान गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यतालाई आत्मसात गर्न सुझाव दिए ।
राजनीतिक दल लोकतन्त्र र विकासका लागि गम्भीर हुन तथा जनता जागरुख हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष नेपालले जनहित र राष्ट्रियताको पक्षमा गम्भीर मन्थन हुनुपर्ने सुझाव पनि दिए ।