कोभिड ओमिक्रोन भेरिअन्टबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुको सल्लाह

0

लन्डन : दक्षिण अफ्रिकामा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड-१९ का नयाँ नयाँ भेरिअन्टहरु आइरहेकाले संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका स्वास्थ्य टिमद्वारा ‘ कोभिड  ओमिक्रोन भेरिअन्ट: अफ्रिकाको अवस्था र सावधानीका  उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एनआरएनए राष्ट्रिय समन्वय परिषद दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प राज भट्टराईले अहिले दक्षिण अफ्रिकामा दैनिक १५ देखि १६ हजार नयाँ संक्रमण देखिइ रहेको बताए।  उनले ओमिक्रोन भेरिअन्टकै कारण कसैको मृत्यु भएको खबर नआएको भएता पनि नयाँ भेरिअन्ट निकै संक्रामक भएकाले सुरक्षा सावधानी अपनाउन आग्रह गरे।

“पटक पटक हात धुने, नाक र मुख छोप्ने गरी मास्क लगाउनुका साथै सबैभन्दा भरपर्दो प्रतिरक्षा उपाय भनेको कोभिड विरुद्धको खोप नै हो,” उनले भने। 

दक्षिण अफ्रिकामै कार्यरत चिकित्सक डा. सरिता पाण्डे भट्टराईले दक्षिण अफ्रिकाका अस्पतालहरुमा अक्सिजनसंग सम्बन्धित उपचारका लागि  भर्ना गरिएका  बिरामीहरु मध्ये झन्डै ७० प्रतिशतले खोप नलगाएको पाइएको बताइन्।  उनले कोभिड विरुद्धको खोप बालबालिकाको लागि पनि सुरक्षित रहेकाले खोप उपलब्ध छ भने वयस्क तथा बालबालिका सबैले लगाउनु पर्ने सुझाव दिइन्।

उनले कतिपय मानिसहरुमा खोपबारे आशंका कायमै रहेको भन्दै सहि सूचना जनसमुदायसम्म पुराउन अरु सक्रिय भूमिका निर्वाह गर्न मिडियालाई आग्रह गरिन्।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोन भेरिअन्ट झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको जनाएको छ। नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भइसकेको छ ।

‘दक्षिण अफ्रिकाले नेपालबाट सिक्नु पर्ने’

दक्षिण अफ्रिकामा कार्यरत अर्का चिकित्सक डा. सुवर्ण प्रधानले नेपालमा खोप लगाउनु पर्छ भन्ने सचेतना रहेको र राजनीतिक तह तथा मिडियाले पनि खोप लगाउन प्रोत्साहित गरिरहेको बताए।

क्रिस हनी हेल्थ डिस्ट्रिक्टका क्लिनिकल युनिट प्रमुख रहेका डा. प्रधानले दक्षिण अफ्रिकामा चाहिं अहिले पनि धेरै मानिसहरु खोप लगाउन अनिच्छुक रहेको बताए।  “यस अर्थमा दक्षिण अफ्रिकाले नेपालबाट सिक्नु पर्छ,” उनले भने।

डा. प्रधानले नयाँ भेरिअन्टको बारेमा थप जानकारी आउन बांकी नै रहेको बताउंदै सबैलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह पनि गरे।

अन्तरक्रियामा सहभागीहरुले सोधेका प्रश्नको चिकित्सकहरुले जवाफ दिएका थिए।  

कार्यक्रमको संचालन एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले गरेका थिए।  

Leave A Reply

Your email address will not be published.