काठमाडौं : नेकपा एमालेले शनिबार एकैपटक देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । चितवनमा मंसिर १० देखि १२ गते हुने १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन आज हुन लागेको हो ।
देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । एमालेको कात्तिक १२ गते भएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनमा प्रतिनिधिको संख्या १ हजार ९ सय ९९ राख्ने निर्णय गरिसकेको छ । एमाले अध्यक्ष केपी ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् ।
एमालेको चितवनमा हुने दशौं महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । जसले आगामी ५ वर्ष एमालेको नेतृत्व गर्नेछ ।
शुक्रबार मात्रै १० औं राष्ट्रिय महाधिवेशनको लोगो पार्टी महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेका छन् ।