अविरल बर्षा पछिकाे बाढी र पहिरोले तीन जनाको मृत्यु

0

देशका विभिन्न भागमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भैसकेको छ ।

कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ । बर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ ।

कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएर खतराको सतह पार गरेका छन् । यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ ।

उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

डडेल्धुरामा १ जनाकाे मृत्यु 

डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेलधुरामै पहिरोमा परेर अमरगढी नगरपालिकाका अन्य थप दुई जना घाइते भएका छन् ।

हवाई उद्दारकाे पर्खाइ

बैतडीमा सेती नदीको बाढी पसेसँगै ६० जना फसेका छन् ।

सिगास गाउँपालिका–५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

बाढी पसेपछि गएरातिदेखि नै केही अन्यत्र सरेका थिए । केही नजिकैको टापुमा बसेका र अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेको अध्यक्ष धामीले बताए ।

बाँध भत्कियाे 

कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिंचाइ बाँध भत्किएको छ । कर्णाली नदीको बहाव बढेसँगै बाँध भत्किएको हो ।

बाँध भत्किएसँगै आसपासका बस्तीहरूमा पानी पस्ने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयले बस्तीमा बाढी पस्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

खतराकाे तह पार 

तीन दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीले खतरा तह पार गरेको छ । वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा तह पार गरेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको सतह बढेर बाढीको जोखिम बढेको बताए ।

नदी तटिय क्षेत्रका सनकट्टी, टीहुनी, दौलतपुर, तिघ्रा, राजापुरलगायतका स्थानमा जोखिम बढेको र सतकर्ता अपनाउन स्थानीयलाई आग्रह गरीएको छ । स्थानीयको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले मंगलबार बिहान कर्णाली नदीको चिसापानीमा पानीको बहाव ११.३० मिटर पुगेको बताए । नदीमा पानीको बहाव १०.८० मिटर पुगेपछि खतरा मानिन्छ ।

चिसापानीमा पानी अझै बढीरहेकोले बाढी आउन सुरु गरेको उनको भनाई छ । बेमौसमी बर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कर्णाली नदीमा यसबर्षकै उच्च पानीको सतह बढेको हो ।

यता राजापुर नगरपालिका– १ दौलतपुरस्थित चनौरा, सोनाहागाउँ, दौलतपुर, सोनपुरलगायतमा बाढी गाउँ पस्न सुरु गरेको स्थानीय लोकराज ढुंगानाले बताए ।

Leave A Reply

Your email address will not be published.