आज महाअष्टमी, कालरात्रिको पूजा गरिंदै

0

काठमाडौं : बडादशैंको आठौं दिन महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । महाअष्टमीको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।

यस दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ ।

कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।

Leave A Reply

Your email address will not be published.