प्रधानमन्त्री देउवाले गरे पोखरा विमानस्थलको निरीक्षण

0

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो ।

सो क्रममा आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको जानकारी गराए । विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटान, ल्याण्डफिल साईटको वैकल्पिक व्यवस्था र विमानस्थल क्षेत्रमा वर्षेनी पस्ने भलबाढी व्यवस्थापनको समस्या भने समाधान हुन बाँकी छ । विमानस्थलको थप कामका लागि करिब ६४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

जवाफमा प्रधानमन्त्री देउवाले भलबाढी व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिने आश्वासन दिए । तर उनले ईआईए र डाँडा कटान सँगसँगै गर्नेबारे भने कुनै जवाफ दिएनन् । ल्याण्डफिल साईटको विकल्प खोज्ने जिम्मेवारी महानगरपालिकाको भएकाले महानगरले नै त्यसको व्यवस्थापन गर्ने बताएको निरीक्षणमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए ।

पत्रकारसँग भने प्रधानमन्त्री देउवाले विमानस्थलको एप्रचोचमा पर्ने रिठ्ठेपानीको डाँडा कटान छिट्टै हुने बताए ।  

२२ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ ।

यसअघि १० जुलाई २०२१ मै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण निर्माणमा ढिलाई भएपछि एक वर्ष म्याद थपिएको थियो ।

Leave A Reply

Your email address will not be published.