काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र जसपा नेपाल भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ ।
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समय आज सकिन लागेको हो ।
निर्वाचन आयोगले भदा नौ गते एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।
सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्ने क्रम जारी छ । प्रदेश दुई र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ ।
देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्ने निर्वाचन आयोगको अनुमान छ ।