भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

0

काठमाडौं : भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ ।

मन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने भन्दै अटेर गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा विरोध प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाएका थिए ।

Leave A Reply

Your email address will not be published.