पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डकाे प्रस्ताव

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

शनिबारबाट काठमाडौंमा शुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक एवं संगठानत्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका हुन् ।

प्रस्तावमा यही भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरू गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ ।

त्यस्तै बैठकमा प्रचण्डले विधान मस्यौदा प्रतिवेदन पेश गरेका थिए । विधान कार्यदल र संगठनात्मक कार्यदलले अघि सारेका प्रस्तावहरुका साथै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न ८ समूह गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सात प्रदेशका सात वटा र भूगोल बाहेकका केन्द्रीय सदस्यहरुको १ गरी ८ समूहमा छलफल गरेर आइतबार ११ बजे बस्ने बैठकमा सुझाव पेश गर्ने कार्यतालिका रहेको उनले बताए ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरु नयाँ योजनाका साथ अघि आउन सक्ने संभावना रहेकाले पार्टी पंक्ति सचेत हुनुपर्ने बताएका थिए ।

प्रचण्डले केन्द्रीय कमिटी बैठक सकिएपछि सरकारको सन्दर्भमा सघन ढंगले छलफल हुने जानकारी गराएका थिए । वाम लोकतान्त्रिक अभियानलाई निरन्तरता दिनुपर्नेमा प्रचण्डले जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.