मेलम्चीमा तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढी प्रभावितको माग

0

काठमाडौं : मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । 

सोमबार मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले बालुवाटारमा प्रधानमन्त्री देउवासंग मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।

बाढी प्रभावितले नदिलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने माग गरिएको श्रेष्ठले बताए ।  

उनीहरुले बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरुका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने श्रेष्ठले बताए ।

भेटपछि प्रधानमन्त्री देउवाले बाढी र पहिराले मेलम्ची क्षेत्रमा पुर्‍याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको बताएका थिए ।  

असार १ गते राति परेको अविरल वर्षासँगै सो क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो । 

Leave A Reply

Your email address will not be published.