काठमाडौं : निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित आज उपस्थित हुन भनेको छ ।
आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्न लागेको हो ।
जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह दुबै पक्षका नेता आज आयोगमा जाँदैछन । यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरेको छ ।
संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ता भने २०७४ असार २४ भएको थियो ।