काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेकी हुन् ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् ।
योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ । राष्ट्रपति कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ ।
नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद श्रेष्ठ व्यापारिक पृष्ठभूमीबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ ।
दोस्रो संविधानसभामा उनी २६ मनोनीत संविधानसभा सदस्यमा मनोनित भएका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।
