काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बुधबार कोडिभ– १९ को उपचार रोकथाम र व्यवस्थापनबारे कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सँग छलफल गर्दै प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् ।
कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिँदै कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
मंगलबार प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि प्रधानमन्त्री देउवाले आगामी तीन महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप उपलब्ध गराउने र आगामी चैतमसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय लिएका थिए ।
साथै कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण शुरु गर्ने निर्णय पनि देउवा नेतृत्वको सरकारले गरेको थियो ।