१० लाख धरौटी बुझाएर रिहा भए कांग्रेस उपसभापति गच्छदार

0

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटीमा रिहा भएका छन् ।

गच्छदार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

हाजिर भएलगत्तै उनको बयान र थुनछेक बहसपछि विशेष अदालतले धराैटी माग्ने निर्णय गरेको हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Leave A Reply

Your email address will not be published.