म्याग्दीमा उत्पादित मह जापान निर्यात

0

बेनी, २ भदौ । यहाँका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको छ । जिल्लाको बेनी नगरपालिकाको ज्यामरुककोट, पुलाचौर, घतानका साथै पात्लेखेत, भगवती, कुहँ,, भकिम्लीलगायतका गाविसका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको हो ।
स्थानीय बजारमा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको मह जापानमा निर्यात गर्दा प्रतिकिलो रु एक हजार १०० पाइने गरेको जिल्लाको बेनी नगरपालिका–१२ पुलाचौर डडुवाकी मौरीपालक कृषक रामकुमारी खत्रीले बताउनुभयो । अघिल्लो वर्ष १० किलो मह जापानमा पठाउनुभएकी खत्रीलाई यस वर्ष २५ किलोभन्दा बढीको माग आएको छ । खत्रीले भन्नुभयो, “मह खरिद गर्नका लागि ग्राहक घरमा नै आउने गर्दछन्, बजारको समस्या छैन ।”
यहाँका किसानले उत्पादन गरेको नवलपरासीका मह व्यापारीले खरिद गरी जापान निर्यात गर्ने गरेका छन् । किसानको घरमा नै पुगेर प्रतिकिलो रु एक हजार १०० का दरले मह खरिद गर्ने र सो महलाई जापान निर्यात गर्ने मह व्यापारी लैनबहादुर राउतले बताउनुभयो ।
मह बिक्री गरेर जिल्लामा वार्षिक रु ८० लाखभन्दा बढी भित्रिने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा आधुनिक र पुराना मुडे गरी करिब तीन हजार ८०० घार रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । मौसमअनुसार फरक–फरक चरन क्षेत्रमा मौरीलाई लैजाने, प्राविधिक सल्लाहअनुसार चिनीलगायतका खानेकुरा दिने गरेपछि मह उत्पादन बढ्ने कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा वार्षिक १९ टन मह उत्पादन हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.