
सनत आचार्य
बेल्जियम । बेल्जियममा रहेका चार बैचारिक संगठनहरुले गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनका लागि साझा उम्मेदवार छनौट गरेका छन् ।
जुलाई २५ मा हुने एनआरएनको निर्वाचनका लागि जनसम्पर्क समिति, जनप्रगतिशील मञ्च, प्रवासी नेपाली मञ्च र नेपाली समाजको निर्णय अनुसार सोमवार लोकतान्त्रिक समाबेसी समुह गठन गरी साझा उम्मेदवार घोषणा गरेका हुन ।
जस अनुसार अध्यक्षमा सीपी भट्ट, उपाध्यक्षमा कासी दनै, मणि कुमार राई, महिला उपाध्यक्षमा सुशीला खतिवडा, महासचिबमा रमेश कडेल, सचिबमा जगदीश सापकोटा र रमेश दाहाल, कोषाध्यक्षमा केदार जोशी, महिला संयोजकमा साबित्री गिरीलाई चयन गरिएको छ ।
त्यस्तै क्षेत्रीय संयोजकमा आन्तर्पेनबाट बेनी ढुंगाना, ब्रसेलवाट अर्जुन घिमिरे, बु्रजबाट जितेन्द्र कायस्त, गेन्टवाट निजाम दिल मियाँलाई चयन गरिएको छ ।
लुभेन र सिन्त्रोजिन क्षेत्रको संयोजक भने छिटै टुङ्गो लगाउने बताईएको छ ।
त्यस्तै खुल्ला सदस्यहरुमा पार्वती शर्मा, समिता सुबेदी, लक्ष्मी सुबेदी, दिनेश अधिकारी,लक्ष्मी पाण्डे सापकोटा, जीवन गुरुङ, रुबीना शर्मा र साधना बोहरालाई छनौट गरिएको छ ।
रुविना शर्मालाई खुल्ला सदस्य पदका लागि उम्मेदवार ताकिएता पनि उनीलाई युवा संयोजकमा लग्ने मनसाय रहेको बुझिएको छ ।
त्यस्तै केन्द्रीय आईसीसी सदस्यमा गंगा शर्मालाई चयन गरिएको छ भने अर्को एक सदस्यका लागि आन्तरिक सहमतिमा यसोदा घिमिरे र भीम जोशी मध्ये एक जनालाई उठाउने निर्णय गरिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमकी पूर्व अध्यक्ष जानकी गुरुङले आफुहरुले यो समुहलाई खुल्ला रुपले सहयोग गर्ने बताउदै एक एनआरएनए अभियन्ता भएको नाताले चुनावमा प्रचारप्रसार र सहयोग गर्नु नैसर्गिक अधिकार भएको बताउनु भयो ।
त्यस्तै पूर्व अध्यक्ष एवं युरोप सह–संयोजक प्रेम गुरुङले यो समुह बेल्जियममा रहेका सम्पूर्ण समुदायसंग जोडिएर जाने भएकोले समाबेसी चरित्रको यो समुहको दायित्व समग्र समाजलाई अघि बढाउने दायित्व रहेको बताउनु भयो ।
जनप्रगतिशील मञ्चका सल्लाहकार अर्जुन अधिकारीले एनआरएनएको काम भनेको बेल्जियममा रहेका गैरआवासीय नेपालीहरुलाई संगठित गर्दै सहि बाटोमा डोर्याउन यो समुह उपयुक्त भएको बताउनु भयो ।
प्रवासी नेपाली मञ्चका अर्जुन दाहालले आफुहरुले पार्टि फुटोस भनेर कहिल्यै नसोचेको र पार्टि भित्र नै अतिवादले जरा गार्न थालेपछि एकताबद्ध गराउन गाँउ देखि प्रवाससम्म समानान्तर समितिहरु गठन गर्न बाध्य भएको जानकारी गराउँदै, यो गठबन्धनलाई केन्द्रीय राजनीतिले प्रभाव नपार्ने बताउनु भयो ।
संघीय समाजबादी पार्टिक सोनाम शेर्पा लामाले यहाँको समाजलाई मिलाएर लानका लागि पनि सहमतीय राजनीति अनुसार एनआरएनएलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।
लोकतान्त्रिक समाबेशी समुहका तर्फवाट अध्यक्ष पदका उम्मेदवार सीपि भट्टले २२ बर्षको युरोप बसाईको क्रममा आफु दुई कार्यकाल गैरआवासीय नेपाली संघको सल्लाहकार, एक कार्यकाल सदस्य, व्यवसायी संघ बेल्जियमको सदस्य हुदै अध्यक्ष लगायत अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध भई काम गरेको बताउदै बिगतको त्यागका कारण आफु सबैको साझा उम्मेदवार बन्न पाएको भावना व्यक्त गर्नु भयो ।
भट्टले आफु २०१५ देखि एनआरएनए बेल्जियमको नेतृत्वदायी भूमिकाको आकांक्षी भएको तर अग्रज तथा साथी भाईहरुको सल्लाहसुझाव अनुसार आफ्नो चाहानालाई थाति राख्दै बसेको स्मरण गर्नु भयो ।
उहाँले आफु र आफ्नो समुहको उम्मेदवारी गैरआवासीय नेपालीहरुको हितका लागि भएको बताउदै आफ्नो समुहको सोच गैरआवासीय नेपाली संघ बेल्जियमलाई सबै प्रवासी नेपालीहरुको साझा चौतारीको रुपमा विकसित गरी हामी नेपाली, हाम्रो एनआरएनए भन्ने भावनाको विकास गर्ने, दोश्रो पुस्ताका बाबु नानीहरुमा लोप हुँदै गैरहेको नेपाली भाषाको संरक्षण र सम्वर्धन गर्ने, प्रवासी नेपालीहरुको धर्म, संस्कृति र परम्पराहरुको रक्षार्थ विभिन्न कार्यक्रमहरु आयोजना गर्र्ने, एनआरएनए मार्फत प्रवासी नेपाली युवाहरुको नेतृत्व र व्यक्तित्व विकासगरी उनीहरुलाई उर्जाशील युवाको रुपमा विकसित गर्ने, बेल्जियममा रहेका प्रवासी नेपालीहरुलाई एनआरएनए भित्र पंजिकृतगरी तथ्याङ्क आवधिक गर्दै जाने, नेपाली युवाहरुलाई खेल क्षेत्रमा केन्द्रीत गरी उनीहरुलाई संसारभरी प्रतिस्प्रर्धीको रुपमा विकसित गर्ने रहेको बताउनु भयो ।
त्यस्तै भट्टले बेल्जियममा नेपाली कला, संस्कृति र प्राकृतिक मनोरमको प्रचारप्रसारगरी नेपालमा पर्यटन भित्त्राई नेपालको पर्यटन र आर्थिक क्षेत्रमा टेवा पुर्याउन, आफुहरुले निरन्तररुपमा उठाएको प्रवासी नेपालीहरुलाई पनि नागरीकता दिने सम्वन्धमा पूर्ववत निर्णयहरुलाई दवाव दिन, यसअघि भएको निर्णय अनुसार नेपाली कला संस्कृति झल्कने सामुदायिक भवन (नेपाल हाउस) निर्माण योजनालाई निरन्तरता दिन र संघ भित्र एउटा भरपर्दो र दरिलो आर्थिक कोष खडागरी नेपालमा देखिने दैवीय प्रकोपलगायत अन्य क्षेत्रमा सहयोग गर्न आफ्नो समुहले उम्मेदवारी दिएको जानकारी दिनु भयो ।
कार्यक्रमका सभाध्यक्ष सीता सापकोटाले एनआरएनए साझा संगठन भएकोले यो संगठनले प्रबासी नेपालीहरुको समाजलाई सकारात्मक रुपले डोर्याउनेमा विश्वस्त रहेको जानकारी दिदै आकाक्षीले नै केही गर्न सक्ने भएकोले यो समुहले सबैको भावनालाई समेटेर अगाडी बढ्न सुझाव दिनु भयो ।
दिनेश भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सबै उम्मेदवारहरुले आफ्नो परिचय तथा भावी योजना समेत सुनाएका थिए भने महासचिबका उम्मेदवार रमेश कडेलले सबैलाई स्वागत गरेका थिए ।