काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर कडा असन्तुष्टि जनाएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दामा सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले आफूले सर्वोच्चको फैसला पालना गर्ने बताए । ओलीले सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै त्यसको समीक्षा भविष्यमा हुने बताए ।
ओलीले जनमत हुँदाहुँदै पनि अदालतको परमादेशका कारण आफू सरकारबाट बाहिरिनु परेको बताए । ओलीले संविधानको धारा ७६ को उपधारा ५ मा दलीय ह्वीप नलाग्ने भनेर सर्वोच्चले संविधान नै संशोधन गरेको आरोप समेत लगाए ।
ओलीले फैसलाले जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्या गरी दलीय प्रणालीको आधारभूत संरचना नै भत्काएर मुलुकलाई गलत दिशातिर धकेलेको बताए ।
उनले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दाबी गरे । उनले आफ्नो पालामा देशले समृद्धिमा फड्को मारेको जिकिर समेत गरे ।