काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफुहरुसँग गरेको सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्झौता कार्यान्वयनमा ढिला भएको र यस बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले आफुले इमान्दारीपूर्वक सरकारसँग भएको सहमति कार्यान्वयन गरेको र सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्रीसँगको भेटमा सहमति कार्यान्वयन गर्ने आश्वासन पाएको उनको भनाइ छ ।
उनले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताए । सहमति कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा पुगेको उनले बताए । विश्वकर्माले आफ्ना नेता कार्याकर्तालाई छिटो भन्दा छिटो रिहाई नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतवनी पनि दिए ।
विश्वकर्माले परिवर्तन र जनमतलाई अब कसैले रोक्न नसक्ने बताए । उनले संसद पुनर्स्थापना भएपनि नभएपनि आफ्नो सरोकारको विषय नरहेको तर्क गरे । आफुहरु अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ ।