ओली प्रवृत्ति मुलुक र मुलुकबासीका लागि सबैभन्दा ठूलो घातक : विपक्षी गठबन्धन

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको विपक्षी गठबन्धनले ठहर गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी  दलका शीर्ष नेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्काइरहेकोे आरोप लगाए । देउवाले न्यायाधीशहरुलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताए ।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दाबी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकेमा असन्तुष्टि व्यक्त गरे ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गरे ।

त्यस्तै उनले  छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गरे । देउवाले कमिसनका कारण कोरोना भाइरसविरुद्धको खोप नआएको ठोकुवा पनि गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली अहिलेको प्रमुख समस्या रहेको बताए । ओली प्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको भन्दै उनले त्यसका विरुद्ध एकसाथ लाग्नुपर्ने धारणा राखे ।

आफू कहिले यता र कहिले उता हुनुमा आफ्नो कमजोरी भएपनि यसमा मूलभुत रुपमा कसको हात छ भनेर बुझ्नसमेत आग्रह गरे ।

त्यस्तै एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको बताए । व्यक्ति चयन गर्दा पनि सुशासन कायम नभएको भन्दै अबका दिनमा व्यक्ति चयनबारे ध्यान दिनुपर्ने उनले बताए ।

उनले ओली जेठ २ मा फर्कन तयार भएपनि कुनै पनि अवस्थामा आफूले भने मूल्य–मान्यताको राजनीति नछाड्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउन र संस्थागत गर्नका लागि गठबन्धनलाई थप मजबुद बनाएर लैजाने धारणा राखे । 

Leave A Reply

Your email address will not be published.