काठमाडौं उपत्यकामा २५ सिट बढीका सार्वजनिक सवारी जोरबिजोरका आधारमा चल्न पाउने

0

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबारबाट सार्वजनिक सवारी संचालन हुन पाउने भएका छन् । सोमबार बसेको तीन पमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन मात्र उपत्यकाभित्र संचालन हुन पाउने निर्णय भएको हो ।

उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका हुन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ ।

भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको बताइएको छ । यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् ।

अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन भैरहेका छन् ।

यसैबीच मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।

Leave A Reply

Your email address will not be published.