काठमाडौं : नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमकाबीच नयाँ मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।
गृहमन्त्री खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री, वन राज्यमन्त्रीको आशाकुमारी विकले शपथ ग्रहण गरेका हुन् ।
२०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो ।
विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् । संसद् पुनर्स्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।
यससँग अब क्याबिनेटमा संविधानले तोकेको अधिकतम मन्त्रीको संख्या पूरा भएको छ । संविधानमा बढीमा २५ जना मन्त्री बन्न सक्ने उल्लेख छ ।