काठमाडौं : नेकपा एमाले झलनाथ खनाल माधव नेपाल पक्षको स्थायी समितिको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन सो पक्षको स्थायी समिति सदस्यहरूको आकस्मिक बैठक बस्न लागेको हो ।
ओलीको प्रस्तावलाई लिएर आफ्नै समूहभित्र फरक फरक धारणा आएपछि संस्थागत धारणा बनाउन नेपाल पक्षले स्थायी समति बैठक राख्न लागेको हो ।
ओलीको प्रस्तावका विषयमा माधव नेपाल पक्षकै नेताबीच मत बाझिएको छ । एक पक्षले ओलीको प्रस्तावलाई सकारात्मक भनेको छ भने अर्को पक्ष प्रस्ताव धोका भएको र विश्वास गर्न नहुने अडानमा छ ।
नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा। विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेता ओलीसँग सम्झौता गर्न नहुने पक्षमा छन् भने योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका छन् ।
यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेता मध्यमार्गमा उभिएका छन् । बैठक सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ । ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर एकताका लागि आह्वान गरेका छन् ।