सेरमले तत्काल खोप निर्यात नगर्ने, नेपालमा खोप आउने अनिश्चित

0

काठमाडौं : भारतीय कम्पनी सेरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ । नेपालले सेरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन ।

नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सेरमले पुसअघि दिन नसक्ने जनाएको हो । समाचार एजेन्सी रोयटर्सले सेरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै सो समाचार दिएको छ ।

भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ । सेरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात शुरु हुने अपेक्षा लिएको जनाएको छ ।

कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो ।

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सेरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ । हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ । जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.