नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।

गत सोमबार संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा बहुमत नपुगेपछि सरकार कामचलाउ बनेको छ भने संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन राष्ट्रपति भण्डारीले दिएको ३ दिनको समय आज राति ९ बजे सकिने भएको हो ।

यो समयभित्र विपक्षी दलले बहुमत जुटाई राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

अहिले संसदमा सबैभन्दा ठूलो दल एमाले नै रहेको छ । संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् । आज राति ९ बजेसम्म विपक्षी दलले बहुमत देखाउन नसकेमा पुनः ओली नै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत भएपनि बुधबार साँझसम्म विपक्षी दलले बहुमत पुर्‍याउन सकेका छैनन् ।

एमालेकै माधव नेपाल पक्षका २८ सांसदमध्ये कम्तीमा १६ जनाले राजीनामा दिए संसदको कूल सदस्य संख्या घटाउने र विपक्षीलाई बहुमत पुग्ने बाटो खोल्ने चर्चा पनि व्यापक छ । तर अझैसम्म यो विषय पनि टुंगो लागिसकेको छैन ।

Leave A Reply

Your email address will not be published.