पाँचथर, २९ साउन । बलात्कृत भएकी एकल महिलालाई गाउँमै पुनःस्थापना गरिएको छ । जिल्लाको फाक्तेप गाविसकी ती महिलालाई महिला तथा बालबालिका कार्यालयले बालबालिकाको स्याहारकै लागि भन्दै गाउँमै पुनःस्थापना गरेको हो ।
कार्यालयले एक महिनासम्म फिदिममा रहेको सामुदायिक सेवा केन्द्रमा राखेको थियो । आर्थिक अवस्था नाजुक भएकी उनलाई कार्यालयले गाउँमा स्थानीयसँग आवश्यक समन्वय गरेर बस्ने वातावरण मिलाएको र छिमेकीले जीर्ण अवस्थाको उनको घरमा प्लास्टिकको छाना लगाइदिएको र शौचालय पनि निर्माण गरिदिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा राँकेले पनि दुईवटा कम्बल, कपडा र भाँडावर्तन दिएको छ । श्रीमान्को निधनपछि पाँचजना छोरीलाई बनिबुतो गरेर पालनपोषण गर्दै आएकी उनलाई फाक्तेप–२ का दिनेश नेम्वाङले बलात्कार गरेको भन्दै जिल्ला अदालत पाँचथरमा मुद्दा दर्ता भएको छ ।
उनका भतिजाहरुले नेम्वाङविरुद्ध सार्वजनिक मुद्दा हालेका हुन् । बलात्कृत भएकी ती महिला अहिले गर्भवती रहेको बालअधिकार अधिकृत सरस्वती सिवाकोटीले बताउनुभयो । उहाँका अनुसार बलात्कृत भएकी ती महिला गाउँकै एक घरमा काम गर्न जान्थिन् । काम लगाउने घरकाले बलात्कृत भएको चाल पाए पनि इज्जत जान्छ भन्दै चुपचाप बस्न भनेको तर गर्भ बोकेको प्रस्टै भएपछि मात्रै खुलासा भएको हो । सिवाकोटीले अदालतबाट मुद्दाको फैसला नहुन्जेलसम्म परिवारसँगै राखेको बताउनुभयो ।
उहाँले ती महिलालाई घरेलु हिंसा कोषबाट घरका लागि जस्तापाता सहयोग गर्ने सोच बनाएको र छोरीहरुको पठनपाठनका लागि जिल्ला बाल कल्याण समितिबाट पहल गर्ने उल्लेख गर्नुभयो । यसैबीच बलात्कारका आरोपित नेम्वाङ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।