प्रधानमन्त्रीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरे : सभापति देउवा

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै सभापति देउवाले वर्तमान सरकारले धेरै गल्ति गरेको र दोष अरुमा थोपर्ने काम गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान व्यवस्था समाप्त गर्न लागेकोले प्रमुख प्रतिपक्ष कांग्रेसले विश्वास दिन नसकेको उनले बताए ।

प्रधानमन्त्री ओली आफैंले उत्पन्न गरेको परिस्थितिका कारण अहिले विश्वास माग्न आउनुपरेको भन्दै देउवाको भनाइ थियो । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । 

सभापति देउवाले कार्यकारीको भूमिकामा रहेका प्रधानमन्त्रीलाई देश र जनताको हीतमा काम गर्न कसले र कहाँ रोक्यो भन्दै प्रश्न पनि गरे । 

उनले कोरोना संक्रमितले अक्सिजन नपाएर जनताको अनाहकमा ज्यान गइरहेको र सरकार मुकदर्शक बनको आरोप लगाए । देउवाले कोभिड महामारीमा समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने धारणा राखे ।

प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रीत रहेको भन्दै देउवाले सरकारका असफलताको इतिहासले मूल्यांकन गर्ने तर्क गरे ।

Leave A Reply

Your email address will not be published.