कोरोना बढ्दै गएपछि पशुपतिनाथ दर्शनमा रोक

0

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको जनाएको छ ।

मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

सूचनामा भनिएको छ, ‘विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९को संक्रमण नेपालमा समेत बढ्‍दै गउको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम २०७८ साल वैशाख १० गतेबाट अर्को व्‍यवस्था नभएकोसम्‍मको लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्‍येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्‍य पूजा बाहेक अन्‍य क्रियाकलाप गर्न नपाउनेगरी व्‍यवस्था मिलाइएको सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुष १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.