काठमाडौं : गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।
नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको पत्रका आधारमा आजदेखि लागु हुने गरी उनको पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको हो । थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।
थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछि माओवादी र एमालेबीच एकता भएर बनेको नेकपालाई सर्वोच्चको आदेशले खारेज गरेपछि थापा पुरानो पार्टी माओवादीमा नफर्की एमालेमै बसेका हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका छन् ।
थापाको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।