एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा उनले संसदमा लामो समयदेखि संसदमा विचाराधिन रहेको एमसीसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफु सधै तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापुर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका थिए ।

उनले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरुले त्यस क्रियाकलापलाई निरुत्साहीत गर्नुपर्ने धारणा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना महामारी विरुद्धको प्रतिकार्य, रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र केही स्थानीय तहका स्थानमा गर्ने उपनिर्वाचन र संसदमा अड्किएको बिजनेसका विषयमा सर्वदलिय बैठकमा छलफल भएको र राजनीतिक दलका नेताहरुले कोरोना महामारीको रोकथाममा सरकारले अझै सचेतता अपनाएर प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको बताए ।  

नेताहरुले आवश्यक परे अति प्रभावित स्थानका विद्यालय बन्द गरेर , धेरै भीडभाड हुने जात्रा लगायतमा भीडभाड कम गर्न सार्वजनिक अपिल गर्नुको साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको त्यसमा आफुहरुको साथ सहयोग रहने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.