पहिरोमा पुरिएर छजनाको मृत्यु

0

काठमाडौँ, २६ साउन । डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छजनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उहाँका छोराहरु १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय वीरेन्द्र विष्ट, छोरीहरु आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो । पहिरोमा परेर डम्बरबहादुर घाइते भएका छन् ।
यस्तै, डौड गाविसकै वडा नं १ मा पहिरोले घर पुरिँदा ७५ वर्षीया चम्पादेवी सिंहको मृत्यु भएको डौड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिनुभयो । “लगातार पानी परिरहेको छ, उद्धारमा कठिनाइ भइरहेको छ” उहाँले भन्नुभयो । डौड गाविसभरि विभिन्न ठाउँमा लगातार पहिरो गइरहेको छ । पहिरोबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन नसकेको इञ्चार्ज अवस्थीले बताउनुभयो । “गाउँ वरपरका खोलामा बाढी आएका कारण प्रहरी टोली घटनास्थलमा पुग्न सकिरहेको छैन” उहाँले भन्नुभयो । अहिले उक्त क्षेत्रमा टेलिफोन नेटवर्कसमेत अवरुद्ध छ ।

Leave A Reply

Your email address will not be published.