कोरोना संक्रमण दर जेठ-असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री

0

काठमाडौं : सरकारले आगामी जेठ र असारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका हुन् ।

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ-असारमा पुनः उच्च दरमा पुग्न सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो सातादेखि निकै कम भइसकेकोमा पुनः संक्रमण बढ्दै गइरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ ।’

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए ।

खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानूनी व्यवस्था गर्न औषधि तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले बताए । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।

मन्त्री त्रिपाठीका अनुसार, चैत्र २२ गते सम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमबार ३ बजेसम्म ४ हजार ५ सय ३६ जनाको नमुना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उनले दिए । उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए ।

Leave A Reply

Your email address will not be published.